नोटबन्दीपछि ९९.३ प्रतिशत भारु साटियो, तर नेपालमा भएको १० अर्ब साटिदिएन भारतले

19

नोटबन्दीपछि ९९.३ प्रतिशत भारु साटियो, तर नेपालमा भएको १० अर्ब साटिदिएन भारतले

भारतले पाँच सय र १ हजार दरका भारतीय नोटमा प्रतिबन्ध लगाएको दुई वर्ष पुग्न लागिसकेको छ । यसबीचमा भारतमा करिब ९९ दशमलव ३ प्रतिशत प्रतिबन्धित नोट साटिइसकेको भारतीय रिजर्भ बैंकले जनाएको छ । तर, ० दशमवलव ७ प्रतिशत नोट फिर्ता भएनन् ।

तीमध्ये केही नोट भारतले नेपाल र भुटानमा रहेका प्रतिबन्धित भारु नसाटी दिएकाले बाहिर बसेका हुन् । नोटबन्दीको दुई वर्ष बित्न लाग्दा पनि नेपाली जनताले कानुनीरुपमा बोकेका प्रतिबन्धित ५ सय र १ हजार दरका भारु साट्न भारतले कन्जुस्याइँ गरेको छ । अब त भारत सरकारका अर्थमन्त्रालयका सचिव नै भन्छन् ती नोट साटिने सम्भावना न्यून छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २३ कात्तिक ०७३ मा सम्बोधन गर्दै ५ सय र १ हजार भारुका नोट नचल्ने घोषणा गरेका थिए । नेपालले पनि त्यसको भोलिपल्ट २४ कात्तिक ०७३ देखि भारु ५ सय र १ हजारका नोट प्रतिबन्ध लगाएको थियो । नेपालमा बैंकिङ प्रणालीभित्रै ७ करोड ८० लाख ६१ हजार प्रतिबन्धित भारु ५ सय र १ हजारका नोट रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, बैंकिङ प्रणाली बाहिर करिब साढे ९ अर्बदेखि १० अर्ब भारु रहेको अनुमान नेपाल राष्ट्रबैंकले गरेको छ । यद्यपि, कतिपय भारतीय मिडियाले भने नेपालमा करिब ३३ अर्बबराबरका प्रतिबन्धित भारु नोट रहेको अनुमान गरेका छन् । तर, नोटबन्दी सुरु भएको दुई वर्ष पुग्नै लाग्दासमेत नेपालमा रहेका प्रतिबन्धित भारु साट्ने औपचारिक घोषणा वा समझदारी भएको छैन ।

१ खर्ब भारु फिर्ता आएन
भारतीय रिजर्भ बैंक (आरबिआई)ले प्रतिबन्धित ५ सय र १ हजार भारुका ९९.३ प्रतिशत नोट फिर्ता भएको उल्लेख गरेको छ । आरबिआईले १ सय ५३ खर्ब भारु फिर्ता भएको जनाएको छ । प्रतिबन्ध गर्नुपूर्व बजारमा १ सय ५४ खर्ब भारुबारबरका हजार र पाँच सयका नोट चलनचल्तीमा रहेको आरबिआईको तथ्यांक छ । यसर्थ, अझै १ खर्ब भारुबराबरका हजार र पाँच सयका नोट सटही हुन सकेको छैन । त्यसमध्येको केही हिस्सा नेपालमा रहेको भारुसमेतको हिस्सा छ । कालोधन, भ्रष्टाचार र नक्कली भारु निस्तेज पार्न भन्दै भारतले ५ सय र १ हजार भारुको नोटमा प्रतिबन्ध लगाएको थियो ।

कहिले पाउँछ नेपालले सटही सुविधा ?
दुई सरकारबीच भएको सहमतिअनुरूप नेपाली नागरिकले एकपटकमा २५ हजार भारुसम्म चलन गर्न पाउने व्यवस्था छ । सोहीअनुसार मार्च २०१७ मा नेपालले प्रतिव्यक्ति २५ हजार भारुसम्मको रकम सटही गरिदिन भारतलाई प्रस्ताव गरेको थियो । तर, भारतीय रिजर्भ बैंककी तत्कालीन कार्यकारी निर्देशक दिपाली पन्त जोशीको नेतृत्वमा नेपाल आएको टोलीले प्रतिव्यक्ति ४ हजार ५ सय भारु सटही गरिदिने प्रस्ताव ग-यो । सुरुमा त्यसमा नेपाल सहमत भएको थिएन । तर, त्यति मात्रै भए पनि साटिदिन नेपालले भारतसमक्ष प्रस्ताव गरेको थियो । त्यसयता पनि थुप्रैपटक औपचारिक तथा अनौपचारिक छलफल भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाखमा भएको नेपाल भ्रमणका क्रममा भारु सटहीका विषयमा छलफल भएको थियो । औपचारिक वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनमै भारु सटहीको समस्या समाधानका लागि आग्रह गरेका थिए । उक्त छलफलपछि प्रतिबन्धित भारु सटहीका लागि भारत सकारात्मक देखिएको थियो ।

अहिले प्रतिबन्धित भारु सटहीको विषय सकारात्मक ढंगबाट अघि बढिरहेको परराष्ट्र मन्त्रालयका सहसचिव तथा भारत डेस्क प्रमुख भृगु ढुंगानाले बताए । ‘प्रधानमन्त्रीकै तहबाट छलफल भइसकेको छ, अहिले मोडालिटी बन्नेलगायतका काम भइरहेका छन्,’ उनले भने, ‘अब छिट्टै समाधान हुने अपेक्षा गर्न सकिन्छ, ढिलोचाँडो हुन सक्छ, तर प्रतिबन्धित भारु साटिनेछन् ।’

source from nayapatrika

LEAVE A REPLY