नेविसंघका नेताहरुलाई फौजदारी मुद्दा लगाएकोमा कांग्रेसको आपत्ति

10

शान्तिपुर्ण प्रर्दशनका क्रममा आफ्ना विद्यार्थी नेताहरु नियन्त्रणमा लिई फौजदारी मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ती जनाएको छ।

सरकारका जनविरोधी कदम विरुद्ध पोखरामा भएको शान्तिपुर्ण विरोध प्रर्दशनका क्रममा नेपाल विद्यार्थी संघका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई नियन्त्रणमा लिई फौजदारी मुद्दा चलाईएकोमा कांग्रेसले गम्भीर आपत्ती जनाएको हो। बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रहरी नियन्त्रण रहेका विद्यार्थी नेताहरुलाई तत्काल रिहाई गर्न पनि माग गरेको छ।

त्यसैगरी गत सोमबार धनुषाको सबैया नगरपालिका–१० खरियानी टोलका पार्टी सदस्य उमेश कापडीमाथि कम्युनिष्ट पार्टीका कार्यकर्ताले सांघातिक हमला गरेको भन्दै बैठकले आक्रमणमा संलग्न दोषिमाथि कडा कारवाहीको माग गरेको छ। कांग्रेसले प्रर्दशन सकिएपछि भएको आक्रमणलाई गम्भीर रुपले लिएको जनाएको छ। घाइते कापडीको अहिले विराटनगरमा उपचार भईरहेको छ।

यसैबीच गत सोमबार राष्ट्रव्यापी प्रर्दशनमा भएको लाखौंको सहभागीताप्रति आभार प्रकट गर्दै छोटो समयमा भव्य प्रर्दशन गर्न सफल भएकोमा बैठकले सबै जिल्लाको पार्टी पंक्तिलाई बधाई दिएको छ।

बुधबारको बैठकमा नेताहरु रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री पूर्ण बहादुर खड्का, केन्द्रीय सदस्यहरु कृष्ण प्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँड, डाक्टर नारायण खड्का, डाक्टर मिनेन्द्र रिजाल, आनन्द प्रसाद ढुंगाना र मोहन बहादुर बस्नेतले धारणा राखेका थिए।

यसैबीच नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिका बारेमा भने नेताहरुबीच मत बाझिएपछि बैठकले कुनै निर्णय गर्न सकेन।

बैठक भोलि विहिबार ११ बजे पुन बस्ने छ।

LEAVE A REPLY